काठमाडौं। विगत १० वर्षमा नेपालमा सडक दुर्घनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन्। एक दशकमा ज्यान गुमाउनेको सङ्ख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हो भने प्रतिदिन ७ जना बराबर हुन्छ। सवारी दुर्घटनामा ज्यान गुमाउनेमा वयस्क पुरुषको सङ्ख्या अत्यधिक छ।
विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा दुर्घटनाहरू भएका छन् । सडक दुर्घटनामा परेर गत आर्थिक वर्ष २०८०/८१ मा मात्र दुई हजार तीन सय ६९ जनाको ज्यान गएको छ।
विगत १० वर्षमा ५० हजार जनाभन्दा बढी गम्भीर घाइते भएको प्रहरीको विवरणले देखाउँछ।
गत वर्ष पुसमा सरकारलाई बुझाइएको यातायात क्षेत्र सुधारसम्बन्धी एउटा प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनामा ज्यान जानेमा आर्थिक रूपमा सक्रिय पुरुषको सङ्ख्या ७७ प्रतिशत देखिएको छ।