काठमाडौं । अहिले धरहराअगाडि बनाइएको तीन वटा प्रतीक्षालयले सबैको ध्यान खिचेको छ। चारैतिर सिसा प्रयोग गरेर बनाइएको उक्त प्रतीक्षालयले त्यहाँ पुग्ने सबैको ध्यान खिचेको हो।
भवन विभागका इन्जिनियर गोपाल भट्टराईका अनुसार उक्त प्रतीक्षालय धरहरा पुनर्निर्माण अन्तर्गत नै बनाइएको हो।
‘यो प्रतीक्षालय धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत नै बनाइएको हो,’ उनले सेतोपाटीसँग भने, ‘धरहरा पुनर्निर्माणको सम्झौतामा यो डिजाइनको प्रतीक्षालय बनाउने उल्लेख थियो।’
धरहरा निर्माण ठेक्का पाएको कम्पनी जिआइइटिसी–रमन जेभीले नै ती प्रतिक्षालय बनाएको हो। बनाइएका प्रतीक्षालयहरू धरहराकै कम्पाउन्डभित्र भएको समेत उनले बताए।
उनका अनुसार साबिकभन्दा भित्र कम्पाउन्ड सारेर धरहरा बनाइएको छ। त्यही भएर धरहरामा आउने सर्वसाधारणलाई सहज होस् भन्ने हेतुले त्यहाँ प्रतीक्षालय बनाएको उनी बताउँछन्।
‘अझ प्रतीक्षालयमा काम गर्न बाँकी छ,’ उनले भने , ‘त्यहाँ रंगरोगनदेखि फिनिसिङको काम हुन बाँकी छ।’