काठमाडाैं । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यसैगरी, तराईमा पेट्रोल एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल समान एक सय ५८ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोल एक सय ७७ र डिजेल तथा मट्टीतेल समान एक सय ६० रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ ।
सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ खरिददर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम सञ्चालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आइओसीले प्रत्येक १५–१५ दिनमा निगमलाई नयाँ खरिद दर पठाउने गरेको छ । नयाँ खरिद दरमा आएको परिवर्तनअनुसार निगमले नेपाली बजारमा मूल्य समायोजन गर्दै आएको छ । यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः उकालो लाग्न थालेको छ । एक महिनाअघि ५ चैतमा ८५.४७ डलर प्रतिब्यारेल रहेको ब्रेन्ट कच्चा तेलको भाउ ३ वैशाख साँझमा ८९.३१ डलर प्रतिब्यारेल पुगेको थियो । गत शुक्रबार भने कच्चा तेलको भाउ ९१.६८ डलर प्रतिब्यारेल पुगेर केही तल ओर्लेको हो । अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार इरान, इजरायल र सिरियाबीच चलिरहेको मध्यपूर्वी देशहरूको द्वन्द्वले कच्चा तेलको मूल्यमा ठूलो दबाब सिर्जना हुनेछ । किनभने, इरानले हमलाको एक दिनअगाडि ओमानको खाडी क्षेत्र ‘होर्मुज’ हुँदै गइरहेको इजरायलको तेल बोकेको जहाज नियन्त्रणमा लिएको थियो । होर्र्मुज क्षेत्र हुँदै इजरायलले विश्वभर २० प्रतिशत कच्चा तेल आपूर्ति गर्दै आएको छ ।