देवानगञ्ज । जनतालाई विकास, समृद्धि र असल शासन दिने लक्ष्यका साथ ल्याइएको गणतन्त्रात्मक शासन व्यवस्था संसारकै सर्वोत्तम पद्दति भएपनि नेपालमा लोकप्रिय बन्न नसक्नुमा पद्दति हैन पात्र जिम्मेवार रहेको पूर्वमन्त्री भगबती चौधरीले बताएकी छन् ।
१६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेतृ चौधरीले गणतन्तात्मक शासन पद्दति संसारकै सर्वोत्तम पद्दति भएपनि पात्रहरु जिम्मेवार नबन्दा असफल भइरहेको बताएकी हुन् । ‘गणतन्त्रात्मक शासन व्यवस्था संसारकै सर्वोत्तम पद्दति भएपनि हाम्रो मुलुकमा लोकप्रिय बन्न नसक्नुमा पद्दति हैन पात्र जिम्मेवार छन् ।’ सामाजिक सञ्जालमा लेख्दै चौधरीले भनेकी छन् ।
गणतन्त्र स्थापना पश्चात बनेका अधिकांश सरकारले जनताको परिवर्तन, विकास र सुशासनको अभिलाषालाई संस्थागत गर्न नसकेको उनको बुझाई छ । जनान्दोलन २०६२÷०६३ ले १० वर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउने काम गरेको उल्लेख गर्दै सांसद चौधरीले शान्ति प्रक्रिया सुरु भएसँगै देशलाई नयाँ संरचनामा लैजाँदै राजनीतिक स्थिरता, विकास र सुशासन प्रारम्भ हुन्छ भन्ने जनताको आशा र सपनामा तुषारापात गर्ने काम दलहरुबाट भएको जिकीर गरेकी छन् । ‘राजनीतिक स्थिरता, संविधान लेखन, विकास र सुशासनका कार्यलाई तदारुकताका साथ अगाडी बढाउनु पर्नेमा आफुलाई परिवर्तनको हिमायती भन्नेले पनि गर्न सकेनन् । सत्ताको स्वादमा बरालिँदा जनतामा ब्यापक निराशा छायो ।’ चौधरीको बुझाई छ ।
२०६४ सालको संविधान सभाले संविधान दिन नसकेपनि मुलुकलाई एकात्मक शासन व्यवस्थाबाट संघात्मक व्यवस्थामा ल्याई पुर्याएर सिंहदरबारको अधिकार गाउँगाउँ पुर्याउने आधार बनाएको र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेको बताउँदै चौधरीले जनताले चाहेको परिवर्तनको मुख्य सपनामाथि भने गणतन्त्र स्थापनापछि तुषारापात गर्ने काम भएको पनि बताएकी छिन् ।
‘राजनीतिक अस्थिरता, कूशासन, भ्रष्टाचार झनै मौलायो । अपेक्षित रुपमा राज्य नचल्दा जनतामा गणतन्त्र प्रति वितृष्णा बढ्दो छ । त्यसलाई हटाउँदै मुलुकलाई समृद्धशाली बनाउनु आजको मुख्य चुनौति हो ।’ विज्ञान र प्रविधिले व्यवस्था, अवस्थालाई नै दिनदिनै बदलिइरहेको परिवेशमा हामीहरु अझै राजनीतिक अधिकार प्राप्तिका लागि लडिरहनु दुःखद भएको चौधरीको विचार छ ।
उनले नेपाल भौगोलिक रुपमा सानो भएर समस्या उत्पन्न भएको नभई सानो सोच र विचारबाट राजनीति अगाडी बढ्दा समस्या भएको दावी गरेकी छन् । ‘सानो देश भएर हामी कहाँ समस्या भएको हैन । सानो सोच, कमजोर विचार, व्यक्तिगत स्वार्थ प्रेरित राजनीतिले मुलुक विगारेको हो । यस कुरामा हामी सबै दलहरु कुनै न कुनै रुपमा दोषी छौं ।’ कुनैपनि दलले म ठिक छु, भन्ने अवस्था नरहेको चौधरीको जिकीर छ ।
सत्तामा पुग्ने मात्र ध्येयले गरिएको राजनीतिले कसैलाई फाइदा नपुग्ने भन्दै चौधरीले सिद्धान्त र विचारको राजनीतिलाई पैतलाले कुल्चिएर स्वार्थको लागि गरिने राजनीतिले राजनीतिक दल, देश र जनता कसैलाई फाइदा नपुग्ने बताएकी छन् । ‘डेढ दशकको राजनीतिमा सिद्धान्तलाई बागमतीमा बगाएर स्वार्थको जलप लगाउने काम धेरै भयो । अब पनि हामीहरु नचेत्ने होभने २००७ सालदेखि नेपाली राजनीतिमा आफुलाई स्थापित गरेका दलहरु २०८४ सालको निर्वाचनमा बढारिने संकेत देखिएसकेको छ ।’ देशका लागि, जनताका लागि र भावी सन्ततीका लागि आफुले आफैंलाई सच्याउनु पर्नेमा चौधरीले जोड दिएकी छिन् ।