हरेक रात,
जब सन्नाटाले राज सुरु गर्छ,
तब,
आँखा र मस्तिष्कको द्वन्द्व चल्छ।
आँखाले पर्दा तल्तिर सार्छ,
शुन्य सिवाय केहि देख्दैन,
औंसीसङ्ग निस्पट कालो सापटी लिई।
त्यसमै विलीन हुन,
आँखाले जमर्को गर्छ।
तर मस्तिष्कले मान्दैन।
अनेकन रङ्गहरु एकैचोटि,
बाल्टिनभित्र मिसाएर त्यसमाथि
थोरै अभिलाषा,
थोरै उज्यालो,
थोरै मिठो थपेर,
आँखाको सामुन्ने छ्ताछुल्ल पारिदिन्छ।
तिनै रङ्गहरुको बीचमा,
भुलबस नथपिएको
जीवन खोज्नथाल्छ
आँखा । यताउता सबैतिर हेर्छ,
पसिनापसिना हुन्छ,
काँप्छ,
कराउँछ,
चिच्याउँछ,
तर भेट्दैन।
खोज्दाखोज्दै थाकेर पुन:
उहि कालोमा,
उहि वास्तविकतामा,
रित्तो फर्किन्छ आँखा।