हरिनगर । सुनसरीको हरिनगर-४ हरिनगरा स्थित रहेको विपत बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शुक्रवार हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष देवनारायण मेहताले सहकारीहरुले सञ्चालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
हरेक सहकारीहरुले शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उनले शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादनमुखी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । ‘सहकारीमा लाग्नु भने सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्नु हो,’ वडा अध्यक्ष मेहताले भने, ‘शेयर सदस्यहरुको आवश्यकता सम्वोधन गर्ने गरि व्यवसाय सञ्चालन गर्नुपर्दछ ।’
राज्यको तीन खम्बे अर्थ नीतिमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ संस्था अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
सभामा संस्थाका अध्यक्ष रामनारायण मेहताले आव २०७९ / ८० को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८०/ ८१ का लागि नीति तथा कार्यक्रम, लक्ष्य बजेट प्रस्तुत गरेका थिए ।
सहकारीको जम्मा आम्दानी २६,०३,५६४ रहेकोमा खर्च २०,२८,३७९ घटाई खूदमूनाफ ५,७५, १८४/६५ रहेको बताएका थिए । यसका साथै आ.ब.२०८०/०८१ मा जम्मा अनूमानित आम्दानी ३३,२६,००० राखिएकोमा अनुमानित खर्च २४,१६,४५३ घटाउँदा ९,०९,५४७ रुपैया राम्रो अवस्था भए आम्दानी गर्ने लक्ष्य लिएको अध्यक्ष रामनारायण मेहताले बताउनु भयो ।
त्यस्तै लेखा संयोजक अशोक कुमार स्वर्णकारले देशमा भईरहेको सहकारी विकृति अनुसार ऋण लगानी प्रक्रियामा कठिनाई भएको हुदाँ गत बर्षको खुद मुनाफामा कमि आएको अवगत गराउँदै आर्थिक बर्ष २०८०/८१ मा लक्ष्य वृद्धि भई ऋण लगानी र अन्य संचालन प्रकिया बाट जम्मा ३३,२६, ००० आम्दानी बाट सम्पूर्ण खर्च अनुमानित रु २४,१६,४५३ खर्च काटी जम्मा ९,०९,५४७ प्राप्त गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सीमित स्रोत र साधानलाई उच्चतम उपयोग गर्दै मितव्ययिताको सिद्धान्त अनुरुप जनशक्ति तथा अन्य क्रियाकलापहरुलाई परिचालन गर्दै आएको र यसलाई वृद्धि गर्दै लैजाने योजना रहेको संस्थाका सचिव सुनिल साहले बताए ।
संस्थाले चालू आवमा आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै सेवा प्रदान गर्ने, धितो निरिक्षण तथा मूल्याङ्कन, प्राविधिक, आन्तरिक लेखापरीक्षक कानूनी परामर्शदाताको व्यवस्था गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट सेयर सदस्य, अन्य सहकारीका पदाधिकारी तथा पत्रकारलाई सम्मान समेत गरेको थियो ।