पेरिस । फ्रान्सले गत जुलाईमा सैन्य ‘कु’ भएको अफ्रिकी देश निजेरबाट आफ्ना राजदूत र सैन्य टुकडीलाई फिर्ता गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले एक टेलिभिजन कार्यक्रममा निजेरबाट राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका हुन् । ‘आगामी केही घण्टामा हाम्रा राजदूत र अन्य कूटनीतिज्ञ फिर्ता आउनेछन्,’ उनले भने ।
उनले निजेरसँग सैन्य सहकार्य सकिएको पनि बताए । निजेरमा रहेका १ हजार ५ सय फ्रान्सेली सैनिकलाई फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको म्याक्रोंले जानकारी दिए । निजेरमा कैयौं सातादेखि सैन्य दबाब र स्थानीयको प्रदर्शनपछि फ्रान्सेली अधिकारी फिर्ता हुन लागेका हुन् । हालैका दिनमा निजेरको राजधानी नियामीमा फ्रान्सेली सेनाको क्याम्पअघि उनीहरूको फिर्तीको माग राख्दै हजारौं स्थानीयले प्रदर्शन गरेका थिए ।
निजेरमा गत जुलाई २६ मा सैन्य कु भएको थियो । सेनाले राष्ट्रपतिमा निर्वाचित मोहम्मद बाजौमलाई नियन्त्रणमा लिँदै सत्ता हातमा लिएको बताएको थियो । तर, फ्रान्सले सेनाको सरकारलाई मान्यता दिन र निजेरबाट बाहिरिन अस्वीकार गरेको थियो । निजेरको सैन्य नेतृत्वले पनि फ्रान्सेली अधिकारी र सेनालाई देशबाट फिर्ता जान दबाब दिँदै आएको थियो ।
यसअघि निजेरका सेना प्रमुखले तीन वर्षपछि मात्र देशमा नागरिक शासन फिर्ता गर्ने प्रस्ताव राखेका थिए । अफ्रिकी क्षेत्रीय संगठन इकोवासका पदाधिकारीसँगको छलफलपछि सेना प्रमुख अब्दुर्रहमान चियानीले नागरिक शासन पुनर्बहाली गर्ने समयसीमा तोके पनि यसबारे थप विवरण खुलाएका छैनन् । पश्चिम अफ्रिकाका बुर्किना फासो, गिनी, माली र चाडपछि निजेरमा पनि सैन्य शासन लागू भएको हो । यी सबै देश कुनै बेला फ्रान्सको उपनिवेश थिए भने पछिल्लो समयसम्म यहाँ उसैको दबदबा थियो ।
सेनाले सत्ता कब्जा गर्न थालेपछि भने यी देशमा फ्रान्सलगायत पश्चिमा मुलुक र अमेरिकाको पकड कमजोर बन्दै गएको छ भने रुसको प्रभाव बढिरहेको छ । विशेषगरी रुसको निजी सैन्य समूह वाग्नरले अफ्रिकामा आफ्नो प्रभाव बढाइरहेको छ । निजेर तथा आसपासका देशमा इस्लामिक समूहको आक्रमण बढ्दो छ । अन्य देशका सैन्य शासनले पनि असुरक्षाको कारण देखाउँदै सत्ता कब्जा गरेका थिए । अहिले निजेरमा पनि सेनाले त्यही कारणलाई आफ्नो हतियार बनाएको छ ।
जिहादी समूहको आक्रमण रोक्न पर्याप्त काम नगरेको आरोप उनीहरूले आफ्ना सहयोगी देश फ्रान्सलाई लगाएका छन् । देशको बिग्रँदो सुरक्षा अवस्था, खराब सामाजिक, आर्थिक स्थितिका कारण सत्ता कब्जा गर्नुपरेको निजेरको सेनाले दाबी गर्दै आएको छ । अर्कोतर्फ देशभर फ्रान्सविरोधी भावना बढ्दै जाँदा पनि सेनालाई ‘कु’ गर्न बल मिलेको हो । फ्रान्सले आफ्नो देशका सबै संसाधनको दोहन गरेको निजेरका जनताको बुझाइ छ
‘कु’ पछि भएको प्रदर्शनमा त्यहाँ रहेको फ्रान्सेली दूतावासमा प्रदर्शनकारीले आक्रमण पनि गरेका थिए । बाजौम सत्तामा आएपछि उनको प्रशासनले फ्रान्सविरोधी प्रदर्शनलाई रोक लगाएको थियो । उनले मालीबाट निकालिएका फ्रान्सका सैन्य बललाई आफ्नो देशमा तैनाथ गर्न पनि स्वीकृति दिएका थिए, जसको विरोध नागरिकस्तरबाट हुँदै आएको थियो ।