हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।
टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० वर्षीय आलम अन्सारी र सहचालक ४४ वर्षीय मन्जुल मियालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले लागू औषध गाँजा, अटो, र दुबै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टले जानकारी दिनुभयो।
लागुऔषध गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिनु भयो ।