हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् ।
तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष हुँदा केही वर्ष तलब पाए । त्यसभन्दा पहिलाको धेरै रकम लिन बाँकी रहेको हुँदा अझै पर्खाइमै रहेको उनले बताए ।
लालबहादुर मगरको पनि टाउका भरी बुढेसकाल फुलिसकेको छ । २०३४ सालका स्थायी कर्मचारी उनी उद्योग भित्रकै क्वाटरमा बस्छन् । उनी सहित १० पूर्व कर्मचारीको परिवार सँगै छन् । पारिश्रमिक नपाएका उनीहरूले मुद्दा, मामिलामा लामो समय गुजारिसकेका छन् । गुरुङ र मगर सहित १३८ कर्मचारीले पारिश्रमिक पाउनुपर्ने विषयको उजुरी र फैसलाका ठेली धेरै भइसक्यो तर खातामा रकम आउन सकेको छैन ।
पहिलो पटक श्रम कार्यालय विराटनगरबाट २०६३ वैशाख २१ र २०६८ माघ १९ मा पारिश्रमिक उपलब्ध गराउनुपर्ने फैसला भयो । त्यसयता श्रम कार्यालय, ऋण असुली न्यायाधिकरण देखी सर्वोच्च अदालत सम्म श्रमिकहरू पुगिसकेका छन् । २०६९ माघ १५ गते ऋण असुली न्यायाधिकरणको फैसला अनुसार २ करोड २८ लाख ४८ हजार ६६५ रुपैयाँ कोष तथा लेखा नियन्त्रकको कार्यालय मोरङको कृषि विकास बैङ्कको खातामा पठाउन आदेश भएको थियो ।
सर्वोच्च अदालतले समेत श्रमिकले पाउनुपर्ने रकम उपलब्ध गराउन आदेश दिएको छ । सारडा ग्रुपले लिलाम गरेको ४ करोड ५५ लाख मध्ये बैङ्कले लिएर बाँकी रहेको २ करोड २८ लाख ४८ हजार ६६५ रुपैयाँ कर्मचारीको पारिश्रमिक बापत दिन अदालतले फैसला गरेको हो । कर्मचारीले माग गरेको २ करोड ६८ लाख ६८ हजार ९५८ रुपैयाँबाट अपुग रहेको ४० लाख २० हजार दामासाहीले कट्टा गर्न आदेश भनिएको छ ।
एक वर्ष अगाडी सारडा ग्रुपको अग्रसरतामा ऋण असुली प्राधिकरणको टोलीले उद्योगका कर्मचारीसँग भेटघाट गरेको थियो । पूर्व कर्मचारी किरण कुमार श्रेष्ठका अनुसार जग्गा छाडेपछि पैसा उपलब्ध दिनेगरि सहमति गर्न प्राधिकरणले दबाब दिएको हो । सारडा ग्रुपलाई जग्गा उपभोग गर्न दिएको एक महिनाभित्र पैसा पठाइदिने आश्वासन दिएको श्रेष्ठको भनाइ छ ।
उद्योग रहेको विराटनगर महानगरपालिका १६ का वडा अध्यक्ष उद्धव भुजेलले पनि सोही कुरा दोहोर्याए । प्राधिकरणका कर्मचारीले साक्षीको रूपमा कागजमा हस्ताक्षर गर्न लगाएको बताउँदै उनले जग्गा भोग चलन गर्ने वातावरण बनाइदिन आग्रह गरेको बताए ।