भक्तपुर । भक्तपुरको भाजुपुखू (भाज्या पोखरी) औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ। शिवरात्रिको अवसर पारेर शुक्रबार यो पोखरी र जलेश्वर मन्दिर उद्घाटन भएको हो।
२०७२ सालको भूकम्पमा भक्तपुरका थुप्रै सम्पदा भत्किएको थियो। यो पोखरीको अस्तित्व त्यसभन्दा अघि नै गुमनाम भएको थियो। भक्तपुर नगरपालिकाले अन्य सम्पदासँगै यो पोखरी जीर्णोद्धार गर्ने कामलाई पनि प्राथमिकतामा राखेको थियो। सोहीअनुसार यो पोखरी जीर्णोद्धार भएको हो।
‘२०७४ सालमा जनप्रतिनिधिका रूपमा हामी निर्वाचित भएपछि क्षतिग्रस्त सम्पदाहरूलाई प्राथमिकता दिएर योजनाबद्ध ढंगले पुनर्निर्माण र जीर्णोद्धार गर्यौ,’ भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिले भने, ‘पाँच वर्षको पहिलो कार्यकालमा हामीले १२४ वटा सम्पदाको पुनर्निर्माण र जीर्णोद्धार गरेका थियौं। सोही कार्यकालमा निर्माण थालेको भाजुपुखू दोस्रो कालसम्ममा निर्माण सम्पन्न गराउन पाउँदा निकै गर्व लागेको छ।’
भाजुपुखू निर्माणलाई प्राथमिकता राख्दै नगरपालिकाले पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद् लगायत सरोकारवाला निकायसँग पटकपटक औपचारिक र अनौपचारिक छलफल र अन्तर्क्रिया गरेको थियो। नगरपालिकाले ६ सदस्यीय अध्ययन टोलीसमेत बनाएको थियो।
उनीहरूको अध्ययन प्रतिवेदनअनुसार पोखरीको बीचमा ग्रन्थकुट अर्थात् शिखर शैलीको मन्दिर भएको तथ्य निस्कियो। पोखरी उत्खनन क्रममा भेटिएका मूर्ति र प्राप्त सामग्रीका आधारमा त्यहाँ जलेश्वर मन्दिर स्थापना गरिएको छ। पोखरी र मन्दिरलाई परम्परागत अनि मौलिक शैलीमा नै निर्माण गरिएको छ।
‘पोखरीमा पानी नअडिने समस्या थियो। त्यसलाई स्थानीय साथीहरूको सल्लाहअनुसार कालोमाटो (देचा) राखेर व्यवस्थापन गर्यौ। पानीको अभाव हुन नदिन नजिकै बोरिङ गरेर पानी भर्यौं,’ नगरप्रमुख प्रजापतिले भने, ‘वरिपरिको पर्खाल निर्माणका लागि नेपाल सरकार सहरी विकास मन्त्रालयबाट पनि सहयोग पायौं।’
भाजुपुखू पुरानै स्वरूपमा निर्माण गर्दा प्राचीन शैलीका इटाहरू समयमा उपलब्ध नहुनु, उपयुक्त साइजका काठहरू बजारमा प्राप्त नहुनु जस्ता अन्य चुनौतिहरू पनि आएका थिए। उत्तरतर्फको दमकलसँगैको बाटो खोल्न पनि समय लाग्यो। बाटो नखुलेसम्म पोखरीको उत्तरी भाग बनाउन नदिने टोलबासीहरूको अडानले निर्माण कार्यमा बाधा पुगेको थियो। पटकपटकको छलफल पछि बल्ल सहमति भयो।
‘जतिसुकै समय लागे पनि मौलिक स्वरूपमा आँच पुग्ने काम हुन दिएनौँ। हरेक विषयमा विज्ञहरूसँग परामर्श गरेरै अगाडि बढ्यौं,’ प्रजापतिले भने।
इतिहासविद् पुरूषोत्तमलोचन श्रेष्ठका अनुसार भाजुपुखू करिब १२ औं शताब्दी पुरानो पोखरी हो। पोखरीको पुरातात्विक अवशेषहरूबाट उक्त कुरा पत्ता लागेको उनले बताए।
‘१२-१३ औं शताब्दीका सम्पदाहरू यो भेगमा भेटिन्छ। नजिकैको गणेश, पूर्वपट्टि रहेको सरस्वतीको मूर्ति, फल्चा (पाटी) सबै त्यही समयमा बनेका सम्पदा हुन्। ती कसः अर्थात् अहिलेका कायस्थहरूका पूर्वजले बनाएका थिए,’ उनले भने, ‘उत्खनन क्रममा हामीले १२–१३ औं शताब्दीका इटाहरू पनि फेला पर्यौ। ती इटा दोलखा, त्रिपुरा सुन्दरी लगायत ठाउँका इटासँग दुरूस्त मिल्छ। यहाँ शिलालेख पनि भेटिन्छ कि भन्ने आशा थियो। त्यो नभेटिए पनि मन्दिको गर्भमा हुने चारपाटे इटाले बनेको स्तम्भ हामीले फेला पार्यौं।’
लोचनका अनुसार सुरूमा यहाँ मन्दिर छ भनेर कल्पना पनि गरिएको थिएन। पोखरी बीचमा थुम्को जस्तो थियो जसलाई धेरैले ‘डम्फू’ भन्थे। यसमा एउटा जनश्रुति पनि जोडिएको छ, जसअनुसार एकादेशमा एउटा राक्षस थियो। त्यो राक्षसले यो पोखरी एक रातमै बनाइदिने वचन दिएको थियो।
भाले नबास्दै पोखरी बनाइदिने वचन दिए भए पनि उनले पूरा गर्न सकेन। पोखरी अधुरै रह्यो। बीचमा डम्फूजस्तो भने रह्यो।
‘त्यस कथामा केही ऐतिहासिक सत्यता रहेछ भन्ने अहिले मलाई अनुभूत भइरहेको छ। त्यो डम्फूमा यति सुरिलो मन्दिरको जग थियो भन्ने हामीले सोचेका पनि थिएनौं,’ इतिहासविद् लोचनले भने।
भाजुपुखु र जलेश्वर मन्दिर उद्घाटनसँगै शुक्रबार ‘भाजुपुखू र जलेश्वर मन्दिर पुनर्निर्माण’ नामक किताब पनि सार्वजनिक भएको छ। कार्यक्रमअघि विभिन्न बाजागाजासहित नासमनाबाट र्याली गरिएको थियो।