०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्दै ईटहरी उप-महानगरपालिका

Logo
नमो संवाददाता प्रकाशित सोमबार, माघ २२, २०८०

तस्विर : फाईल

हरिनगर । सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम बीचमै अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई इटहरी उपमहानगरपालिकाले कालोसूचीमा राख्न स्पष्टीकरण सोधेको छ ।

इटहरीका विभिन्न १४ वटा योजना अन्तर्गत निर्माणको कामलाई अलपत्र पार्ने ६ कम्पनी छन् । त्यसमध्ये धेरै योजनाहरू जिम्मा लिने तर काम नगर्ने कम्पनी गिरी कन्स्ट्रक्सन प्रा.लि. हात्तीवन हो । यो कम्पनीले विभिन्न ५ वटा योजनाको निर्माण ठेक्का पाएको थियो । तर, सबै काम आधा मात्रै भएका छन् ।

इटहरी–१४ स्थित हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे सडक योजना, इटहरी–१७ को लविपुर–मझरा कालोपत्रे सडक योजना, इटहरी–१८ को जातपुर–बिसनपुर सडक ग्राभेल तथा प्रोटेक्सन वाल निर्माण योजना, इटहरी–१७ र १९ जोड्ने बिसनपुर–अमाहा जोड्ने कालोपत्रे सडक योजना र इटहरी–८ को सतन मार्ग कालोपत्रे सडक योजना गिरी कन्स्ट्रक्सन प्रा.लि. हात्तीवनले ठेक्का लिएको छ । तर, कुनै काम पूरा गरेको छैन ।

यसैगरी इटहरी–१० को बहुजातीय सङ्ग्रहालय प्रेरा गिरी जे.भी. हात्तीवन र इटहरी–९ स्थित १५ बेडको इटहरी अस्पतालको भवन प्रतिष्ठा गिरी जे.भी. कम्पनीका ठेकेदार पनि गिरी कन्स्ट्रक्सनका ठेकेदार एकै हुन् । ठेकेदार एकै तर कम्पनी फरक पारेर ठेक्का लिएका हुन् । यसरी एउटै ठेकेदारले विभिन्न ७ वटा निर्माणको ठेक्का लिएको र कामै नगरी अलपत्र पारेको देखिएको छ । यी सबै कम्पनीका ठेकेदार कुमार गिरी इटहरीबासी नै हुन् ।

ठेकेदार कुमार गिरीले समयमा भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको बताए । उनले भने, ‘निर्माण सामग्रीको मूल्य बढेकाले समेत समस्या भएको छ ।’

यस्तै अन्य योजना अलपत्र पार्ने अर्को कम्पनी सिरहाको अङ्कित कन्स्ट्रक्सन प्रा.लि. हो । यो कम्पनीले स्मार्ट सार्वजनिक शौचालय र इटहरी–१६ को बक्राहा खोलाको बक्स पुल निर्माणको काम बीचमै छाडेर सम्पर्कविहीन भएको छ । भोजपुरको अनु निर्माण सेवाले पनि २ वटा योजनाको काम गर्छु भनेर काम गरेको छैन । इटहरी–२० को धनपुरी मार्गको कालोपत्रे योजना र टेङ्ग्रा खोला कोरिडोरमा रिटेनिङ वाल लगाउने काम हुन सकेको छैन ।

खनार प्रहरी चौकी–भानु मार्ग भारवी रोड कालोपत्रे योजना आर वन कन्स्ट्रक्सन र घोइन्डा खोलाको पुल निर्माण इटहरी–१६ को योजना एम के कन्स्ट्रक्सन सिरहाले अलपत्र छाडेका छन् । इटहरी–१५ स्थित भोटिया खोलामा पुल बनाउने ठेक्का पाएको भैरव नारायणम जे.भी. नेपालगञ्जले काम गर्न सकेको छैन ।

एकभन्दा बढी ठेक्का लिने तर, काम नगर्ने कम्पनीहरूलाई कारबाही गरिने इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले बताए । कानूनले दिएको अधिकार प्रयोग गरी तोकिएको मितिमा स्पष्टीकरण नदिने तथा सम्पर्कमा नआउने कम्पनीलाई कारबाही गर्ने उनले बताए ।

उपमहानगरपालिकाले माघ १० गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्रमा स्पष्टीकरण पेस गर्न भनेको छ । तोकिएको मितिमा सम्पर्कमा नआउने र स्पष्टीकरण पेस नगर्ने कम्पनीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने चेतावनी दिएको छ ।

कारबाहीमा पर्ने कम्पनीको जमानत जफत गरी बाँकी निर्माण कार्य गर्ने रकमसमेत सो कम्पनीबाट नै असुल उपर गर्ने उपमहानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

ठेक्का सम्झौता भई निर्माण कार्य अधुरो रहेका, म्याद समाप्त भएका निर्माण कम्पनीहरूलाई ठेक्का सम्झौता अद्यावधिक गरी काम सुचारु गर्न गत भदौ १ गते पनि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

योजनाहरू अलपत्र छाडेर भाग्ने तथा सम्पर्कविहीन हुने निर्माण कम्पनीहरूलाई पटक–पटक आग्रह गर्दा पनि सम्पर्कमा नआएका कारण कारबाहीको प्रक्रिया सुरु गरिएको इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ६ ठाकुरबारी चौक जिराेगुवामा अवस्थित श्री रामजानकी मन्दिरमा नवनिर्मित समुदायक भवनको उद्घाटन सम्पन्न भएको छ। विवाहपञ्चमीको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै उक्त सामुदायिक भवनको उद्घाटन कोशी प्रदेश सभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री रामप्रसाद मेहताले गरेका थिए। कोशी प्रदेश अन्तरगतको शहरी विकास कार्यालय विराटनगरको ३५ लाख लागतमा […]

देवानगञ्ज । लिखित कसुर गरेको आरोपमा पक्राउ परेका सुनसरीको देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादबलाई बिहिबार सार्वजनीक गरेको छ । लिखित कसुर गरेको अधारमा वडा अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ नियन्त्रणमा लिएर बिहिबार सार्वजनीक गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट तिर्थ यात्रा को लागि भारतको अयोध्या, नैमिषारण्य, वृंदावन, चित्रकुट, मथुरा, वनारश, गोकुल र वैजनाथ धाम जान लागेका तिर्थ यात्रीहरूलाई वडा अध्यक्ष हरिनन्दन मेहताले शुभकामनाका साथै सम्मान गर्नुभएको छ । वडा अध्यक्ष मेहताले तिर्थ यात्रीहरुलाई सोमवार देवानगञ्ज गाउँपालिका वडा नं. ६ स्थित रहेको ठाकुरवारी चौकबाट तिर्थ यात्रीहरूलाई शुभकामना दिई […]