अनुसन्धानलाई सहज बनाउन ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई जनही १० लाख राहतको व्यवस्था गरिएको बताएका छन्। मृतकको परिवारलाई इपिएस फण्ड र वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त सुविधाका लागि पहल भइरहेको उनको भनाइ छ।

“कहीँ न कही कमजोरी भएको निष्कर्ष निकालेर प्रारम्भिकरुपमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो”, उपप्रधानमन्त्री श्रेष्ठले भने। प्रहरी बललाई स्थितिलाई नियन्त्रणमा लिनका लागि गोली नै नचलाउनु भन्ने सर्कुलर गरिएको जानकारी दिँदै उनले नागरिकको जीउधन, सरकारी तथा निजी भौतिक सम्पत्तिमा गम्भीर क्षति पुग्ने अवस्था देखिए सोच्नुपर्छ, सकेसम्म गोली प्रहार नगर्नु भन्ने रहेको जानकारी दिए। घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको उनले जानकारी दिएका छन्।